Press Release

Press Release on State Day Celebration in Capital

Press Release by C P Sharma, Press Advisor to Chief Minister of Sikkim

On 23rd of May 2022

गएको राज्य दिवसलाई दिल्लीमा मनाएको कुरा उठाएर आफ्नो राजनैतिक दुनो सोझ्याउने पवन चामलिङको दुष्प्रयासको एसकेएम पार्टी ठाड़ो खण्डन गर्दछ। पीएस गोलेले श्रीसम्पत्ति, गौरव सक्यो भन्ने पवन चामलिङको कुरा संकुचित विचार हो। यो पाली राज्य दिवस चार दिवसीय रहेकोले समापन कार्य राष्ट्रिय स्तरमा मनाइनु कुनै आश्चर्यको कुरा होइन। राज्य दिवसको पहिलो दिनको कार्यक्रममा सबै वर्तमान तथा पूर्व विधायकहरूलाई निमन्त्रणा दिइए तापनि प्रायःले आफ्नो उपस्थिति दिनुभए पनि पवन चामलिङले भने उपस्थिति नदिनु र भरे कुरा काट्नु भनेको उनको कमजोरी राजनीति र मानसिकताको प्रमाण बनेको छ। जब सिक्किम नै भारत देशको एउटा राज्य हो भने राज्यले आफ्नै देशको राजधानीमा कुनै कार्यक्रम गर्नु भनेको गर्वको कुरा हो। संकुचित राजनीतिमा आफ्नो सफलता देख्ने पवन चामलिङलाई राज्य दिवस दिल्लीमा पालन गरिएको नपच्नु स्वाभाविक नै हो। 16 मई 2022 को दिन राज्यपाल गंगाप्रसादज्युको उपस्थितिमा पहिल दिनको कार्यक्रम र रहल दुइदिनको कार्यक्रम पनि सिक्किमभित्रै भएको नदेखेर केवल दिल्लीमा भएको कार्यक्रम मात्रै देख्ने अन्धो मानसिकताबाट पवन चामलिङले बाहिर निस्कनुपर्छ भन्ने सल्लाह दिँदछु।
राज्य दिवसलाई देशको राजधानीमा मनाइनु भन्दैमा सिक्किमको श्रीसम्पत्ति र गौरव निखार्नु हो भन्ने जस्ता भ्रामक र संकीर्ण विचार व्यक्त गर्नु भनेको आफू कुवामा रहेर धमिल्याएको कुवाको पानीमाथि आक्रोश उगेल्नु जस्तो मात्र हो।
सिक्किम राज्य राजतन्त्रबाट प्रजातन्त्रमा परिणत भएको 47 वर्ष पुगेको छ। यति लामो समय बितिसक्दा पनि भलै राज्यले जनता भेटे पनि जनताले राज्य भेटेनन्। राज्यभित्र जनता अटाए तर जनताभित्र राज्य अटाउन सकेन। किनकि यस्तै छुद्र मानसिकतावादी नेताले राज्यलाई पेवा पिँड़ालुबारी बनाएका थिए। राज्य तिनै परिवारवादी नेताको आमाको दाइजो र बाबुको बीरता बन्न बाध्य बन्यो। तर आज पीएस गोलेको सरल र सफल राजनीति र राज्य अनि जनताप्रतिको इमानदारी भावनाका कारण राज्यभित्र जनता अटाए झैं जनताभित्र राज्य अटाएको छ। जनताले पवन चामलिङको तानाशाही, राजतन्त्रे शासनलाई धूलो चटाएर प्रजातन्त्र फर्काइदिएका छन्। जनताले पच्चीस वर्षसम्म हराएको प्रजातन्त्र पाएर रमाएको देखेर मानसिक सन्तुलन गुमाउन पुगेका पवन चामलिङ आज पीएस गोले नेतृत्वाधीन सरकारको चौबीसै घण्टा नाम जप्ने भएका छन्। यसरी सदैव नाम जपिरहने भाग्य मिलिरहोस् भन्ने शुभकामना पनि छ।
हरेक चुनाउअघि हुकुमेरहरूले मखुण्डो फेरेर प्रजातन्त्रको कुरा उठाएर गरिएको भाषणलाई विश्वास गरे जनताले। तर जब चुनाउको परिणाम आफ्नो पक्षमा पर्थ्यो, लगत्तै प्रजातन्त्र निमोठिएर राजतन्त्रमा कसरी परिणत हुन्थ्यो त्यो पवन चामलिङलाई होइन जनतालाई थाहा छ। हो, राज्य त केवल एसडीएफका केही टाठा-बाठा र औसरवादीहरूकै टुँड़ीखेल बन्न पुगेको थियो। परिवारवादको बगैंचामा नातावादका फूल फुले। राज र प्रजातन्त्र त पूर्व समयमा केवल चाप्लुसी र चम्चागिरी गर्नेहरूकै कोठेबारी बन्न पुगेथ्यो र तिनै भ्रष्ट र चाटुकारहरूकै कारण राज्यको जनता पीड़ा बोकेर बाँच्न बाध्य बनिए। जनतामा सबैथोक भएर पनि केही नहुनेका कोटीमा परे। भगवानको आशीर्वाद बनेका खोला र खोल्सा सुक्न पुगे। रमाइला बगरहरू पवन चामलिङको सरकारकालमा कसैको व्यक्तिगत सम्पत्ति बन्न पुगे। पच्चीस वर्ष विधानसभा तिनीहरूले नै घेरेर राखे। पच्चीस वर्ष प्रजातन्त्रको नाममा खुम्चिएको मन बोकेर हिँड्न बाध्य बनेका थिए जनतालाई पवन चामलिङले नदेख्नु उनको राजनैतिक विश्राम विन्दु बनेकैले अहिले उनी अनावश्यक कुरा उठाएर जनताको साखिलो र सुकिलो बन्न लागेका छन्।
पच्चीस वर्ष मुख्यमन्त्री बनेका र तीन दशकभन्दा धेरै राजनीतिमा संलग्न भएका व्यक्तिले आज यस्तो नानी कुरा गरेर जनतामा भड्काउ बयान दिनु भनेको आफ्ना मुद्दा सकिएपछिको विचलन मात्रै हो।
प्रसंगवश भन्नुपर्दा यो पालीको राज्य दिवस चार दिवसीय भएकोले अगाड़िका तीन दिन सिक्किम राज्यभित्रै र समापन कार्यक्रम मात्र राजधानी दिल्लीमा गरिएको स्पष्टता व्यक्त गर्दछु। त्यसैले, पवन चामलिङले खुम्च्याएऱ राखेको सिक्किम राज्यलाई वर्तमान सरकारले राष्ट्रीय स्तरमा परिचय गराउनु भएको फाँटिलो सोंच मान्नुपर्छ। दिल्लीलाई केवल धरना गर्ने ठाउँको रूपमा मात्र नहेरुन् चामलिङले।
​​​​ ​​​सी.पी.शर्मा
प्रवक्ता
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी


Posted

in

by

Tags: